काठमाडौँ– सरकार जेन जेड आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि थप गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले समय अवधि थप गर्ने निर्णय गरेको हो ।
सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
तीन महिनाको समय दिएर गठित आयोगले निर्धारण गरिएको समयमा काम नसकेपछि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि आयोगको म्याद थपेको थियो । त्यो समयमा पनि काम नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद पुनः २० दिन थप्ने निर्णय गर्यो । त्यो समय बुधबार (माघ २८ गते) सकिँदैछ ।
पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।