काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ।
तथ्याङ्क कार्यालयले सोमवार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ।
५ वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ पुगेको छ। साथै नवजात शिशुहरूमध्ये १ महिना उमेर नपुग्दै १७ जना शिशुको मृत्यु हुने गरेको तथ्याङ्क कार्यलयले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रदेशगत तथ्याङ्कअनुसार नवजात शिशु तथा बाल मृत्यु दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको छ। सुदूरपश्चिममा प्रति १ हजार जन्ममा २६ बालमुत्यु हुने गरेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा १० जना रहेको छ। शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा बढी ३८ र वागमतीमा सबैभन्दा कम १७ देखिएको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर समेत सुदूरपश्चिममा ४८ पुगेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको छ।
नेपालको कुल प्रजनन दर प्रतिमहिला १ दशमलब ९ मा झरेको छ। तर १५–१९ वर्षका किशोरीहरूमा प्रति १ हजारमा ४८ जनाले जीवित बच्चा जन्माएको पाइएको छ। यो तथ्याङ्कले किशोरी गर्भधारण अझै चुनौतीको रूपमा रहेको देखाउँछ। २०–२४ वर्ष उमेर समूहका ११.२ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै बच्चा जन्माएको पाइएको छ।
गत दुई वर्षभित्र सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक गर्भजाँच गराएको छन्। ९०.५ प्रतिशतले स्वास्थ्य संस्थामै सुत्केरी गराएको र २५.३ प्रतिशतले शल्यक्रियाबाट सुत्केरी गराएको देखिएको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।