काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान चुनाव नभएपनि देशलाई बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेदवारहरुसँगको साक्षात्कारमा लिङ्देनले पुरानै व्यवस्थामा हुन लागेको चुनावले देशको समस्या समाधान गर्न नसकेपनि देशलाई थप संकटबाट बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका हुन् ।
नेपालको निर्णायक नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नव युवा पुस्ताको बीच नविनतम सम्झौता नभइ मुलुकको समस्या समाधान हुन नसक्ने उनले बताए ।
लिङ्देनले एउटा प्रजातान्त्रिक पार्टी हुनको नाताले विद्रोहमा जानुभन्दा चुनावलाई उपयोग गर्ने भनेर चुनावमा सहभागी भएको धारणा राखे ।
उनले अहिले पूर्वाधार निर्माणका लागि भन्दा पनि ठूलो कुरा देशै रहने कि नरहने भन्ने अवस्थामा पुगेको बताए । राप्रपा देशलाई समृद्ध बनाउने विशिष्ट दृष्टिकोण राख्ने पार्टी भएकाले मौका पाए देशलाई सफल बनाएरै छाड्ने उल्लेख गरे ।
लिङ्देनले छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा रहेको जिकिर गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।