धादिङ– थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए ।
दुर्घटनापछि एउटा बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा ठोक्किँदा चिया पिउन लागेका धादिङ धुनिवेशी नगरपालिका-९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पसल नजिकै टिपर रोकेर चिया पिउन बसेका तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा पसलका सञ्चालक बाँकेको वैजनाथ गाउँपालिका-१ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवा जाँदै गरेको बसमा सवारी ८ वर्षीय सफलता पुलामी मगर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।