काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन् ।
अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’ का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिकाले करोडौँका मन जित्न सफल भएका बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै कलाकार थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताएकी छन् । सन्देशमा उनले “चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ”, भनेकी छन् ।
प्रधानमन्त्रीले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् । अभिनेता थापाको हृदयघातबाट ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।