काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका दिन पानी पर्ने वा हिमाली क्षेत्रमा हिमपातको सम्भावनाबारे मौसम विभागसँग सोधेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसको जवाफसमेत फर्काइसकेको छ । निर्वाचन आयोगले पत्र नै पठाएर महाशाखालाई फागुनको मौसमी अवस्थाबारे सोधेको थियो।
जबाफमा महाशाखाले एक साताको मौसमी अवस्था मात्रै महाशाखाले भन्न सक्ने कुरा उल्लेख गरेको छ।
‘जल तथा मौसम विज्ञान विभागले पत्रबाटै जानकारी गराउनुभएको छ- अहिले पछिल्लो प्रविधिअनुसार एक सातासम्मको मौसमी अवस्था जानकारी दिन सक्नु हुने रहेछ। त्यसभन्दा अघिको भविष्यवाणी गर्न सक्ने खालको प्रविधि रहेनछ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘हामीले फागुन १० गतेदेखि ३० गतेसम्मको मौसम पूर्वानुमान पठाउन भनेका थियौं। उहाँहरूले निकै मेहनत गरेर पछिल्लो ३० वर्षको औसतमा रेकर्ड पठाउनुभएको छ।’
महाशाखाले विगत लामो समयको अध्ययन गरेर फागुनमा पानी नपरेको अवस्थाबारे आयोगलाई जानकारी गराएको छ। विगत ३० वर्षको अवस्था हेर्दा फागुन २० देखि २३ गतेसम्म पानी नपरेको देखिएको महाशाखाले आयोगलाई जानकारी गराएको हो। मौसमकै कारणले निर्वाचन प्रभावित हुने नदेखिएको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।