काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न आग्रह गरेको छ।
आयोगले आज(बिहिवार) विज्ञप्ति जारी गर्दै सबै पक्षलाई यस्तो आग्रह गरेको हो।
आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन पनि जोड दिएको छ। आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा मानव अधिकारको अवस्थाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको छ।
यसै सन्दर्भमा आज आयोगले निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अनुगमनरपर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा छलफल गरेको छ। छलफलका सहभागीहरुले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए।
आयोगमा भएको छलफल तथा राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरूबाट भइरहेको अनुगमनबाट समेत आयोगले विभिन्न तथ्य प्राप्त गरेको छ।


अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको,मतदाताहरूलाई झकुन दलरनेतालाई भोट दिने भनी प्रश्न सोध्ने र त्यसलाई भिडियोरअडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लङ्घन गरेको लगायत पाइएको छ।
आयोगले भनेको छ, ‘निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन/प्रसारण नगर्न, हिंसात्मक क्रियाकलाप बन्द गर्न, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।