काठमाडौँ – काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट २४ घण्टापछि चोरीमा संलग्न प्रेम थारु पक्राउ परेका हुन्।
काठमाडौंका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी चौधरीलाई पछ्याउँदै गएराति विशेष सूचनाको आधारमा नागार्जुन नगरपालिका क्षेत्रमा पुगेको थियो ।
गएराति करिब साढे ११ बजे चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए ।
त्यसक्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएका प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार पक्राउ परेका चौधरीको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सि–माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।
माघ १७ मा भोटेबहालमा पनि २५ तोला सुन चोरी भएको थियो । सो चोरीमा पनि थारुकै संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।