काठमाडौं- संयुक्त अरब इमिरेट्स ९यूएई०ले २ सय ६७ नेपाली कैदीलाई आममाफी दिएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर ५४औं राष्ट्रिय दिवसका अवसरमा यूएईले ती नेपालीलाई आममाफी दिएको जनाएको हो।
यूएई सरकारले प्रदान गरेको आममाफीलाई नेपाल–यूएईबीच द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको उदाहरणका रूपमा लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्रको निर्देशन अनुसार पटक–पटक अनुरोध गरेपछि यूएई सरकारले ती नेपालीलाई आममाफी दिने निर्णय गरेको हो।
आममाफी पाएका नेपालीविरूद्ध अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहे यूएईको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्किन सक्ने जनाइएको छ।
यस्तै यूएईमा रोजगारी तथा बसोबास गर्दै आएका नेपाली नागरिकका हकहितमा सरकारले कूटनीतिक पहल जारी राखेको मन्त्रालयले जनाएको छ। यसअघि गत जुलाइमा पनि इदको अवसरमा १२० नेपालीलाई बाँकी सजाय मिनाहा गरी आममाफी दिइएको थियो। यूएईले विभिन्न चाडपर्वका तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली बन्दीलाई आममाफी दिँदै आएको छ।
त्यसैगरी कतारले पनि गत पुसमा राष्ट्रिय दिवसका अवसरमा १३ नेपालीलाई आममाफी दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।