काठमाडौं– पाकिस्तानको बलुचिस्तानमा चलिरहेको सेनाको कारबाहीमा परेर कम्तिमा ५८ जना विद्रोही मारिएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
विभिन्न सुरक्षा स्रोतहरूलाई उद्रृत गर्दै डनले यस्तो जानकारी बाहिर ल्याएको हो । यसअघि प्रान्तका मुख्यमन्त्री सरफराज बुगतीले १२ स्थानमा संयोजित रूपमा आक्रमणको प्रयास भएको र त्यसलाई विफल तुल्याउन सेनाले कारबाही थालेको बताएका थिए । झडपका सुरक्षा फौजतर्फ कम्तिमा १० जनाको मृत्यु भएको छ ।
मुख्यमन्त्री बुगतिले भनेका छन्, ‘बिहान, आफ्नो गिर्दो मनोबललाई बलियो बनाउने प्रयासमा, फितना–अल–हिन्दुस्तान आतंककारीहरूले धेरै स्थानहरूमा आक्रमण गर्ने प्रयास गरे । जसलाई बलुचिस्तानको साहसी प्रहरी र एफसी (फ्रन्टियर कोप्र्स) का बहादुर कर्मचारीहरूले संयुक्त रूपमा विफल पारिरहेका छन् ।’
उनले थपे, ‘यी आक्रमणहरूले आतंकवाद विरुद्धको हाम्रो संकल्पलाई कमजोर पार्न सक्दैनन् ।
सरकारी रेडियो पाकिस्तानले पनि सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ, ‘विभिन्न स्थानहरूमा आतंककारीहरूलाई सुरक्षा बलले खोजी गर्ने क्रम अझै जारी छ ।’
डनका संवाददाताका अनुसार , आक्रमणपछि क्वेटा, सिबी र चमन क्षेत्रमा मोबाइल डाटा सेवा केही समय निलम्बन गरिएको थियो । मुख्यमन्त्री बुगतीले सुरक्षा अवस्थाको समीक्षा गर्न क्वेटामा भएको बम विस्फोट स्थलको पनि भ्रमण गरेका छन् ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले धेरै स्थानमा आक्रमणको प्रयास भएपनि सेनाले त्यसलाई विफल पारेको भन्दै प्रशंसा गरेका छन् ।
उनले कारबाहीको क्रममा शहादत प्राप्त गर्ने सुरक्षाकर्मी र निर्दोष नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।