काठमाडौँ – भेनेजुएलाकी विपक्षी दल नेता मारिया कोरिना मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छिन् । बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटघाटमा उनले आफ्नो नोबेल शान्ति पुरस्कार प्रदान गरेकी हुन्।
ट्रम्प आफैले सामाजिक सञ्जालमार्फत मचाडोबाट आफूले नोबेल शान्ति पुरस्कारको पदक प्राप्त गरेको जानकारी दिएका छन् ।
‘मेरो कामको सम्मान स्वरूप मारियाले आफ्नो नोबेल शान्ति पुरस्कार मलाई प्रदान गर्नुभएको छ । यो पारस्परिक सम्मानको सुन्दर संकेत हो । धन्यवाद मारिया,’ ट्रम्पले भनेका छन्।
माचाडोले पनि भेटवार्ता अत्यन्त सकारात्मक भएको बताउँदै भेनेजुएली जनताको स्वतन्त्रताप्रति ट्रम्पले देखाएको प्रतिबद्धताको कदर स्वरूप आफूले पाएको पदक ट्रम्पलाई दिएको बताएकी छन् ।
तर नोबेल शान्ति पुरस्कार समितिले पुरस्कार घोषणा भइसकेपछि त्यसलाई कसैलाई हस्तान्तरण गर्न वा बाँड्न नमिल्ने स्पष्ट पारेको छ । यसअघि नै माचाडोले ट्रम्पलाई आफ्नो पदक दिने घोषणा गरेपछि समितिले असन्तुष्टि व्यक्त गरेको थियो । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नोबेल पुरस्कार घोषणा भएपछि त्यसको स्वामित्व र निर्णय अन्तिम तथा स्थायी हुन्छ । यसलाई कसैलाई हस्तान्तरण गर्न वा बाँड्न मिल्दैन ।’
मदुरोको बहिर्गमनपछि ट्रम्प प्रशासनले भेनेजुएलाको तेल क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न थालेको छ । बुधबार मात्र अमेरिकाले ५० करोड डलर बराबरको भेनेजुएलाली तेल बिक्री गरेको जनाएको छ । यसैबीच, रोड्रिगेज निकट दूतहरू वासिङ्टन पुगेका छन् र भेनेजुएलाली दूतावास पुनः सञ्चालनको तयारी भइरहेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।