कालेबुङ- भूमिगत रहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले ३० अक्टोबरको दिन दार्जीलिङ फर्किने प्रतिज्ञा गरेको भोलिपल्ट प्रहरीले वर्न्सवेग चियाबारीमा विमल गुरूङ पक्षसँग मुठभेड भएको दाबी गर्दै मुठभेड क्षेत्रमा पाइएको भन्दै हातहतियार सार्वजनिक गरेको थियो।
गोर्खा जनमुक्ति मोर्चाबाटै विद्रोह गरेका नेता विनय तामाङले यो हिंसाको निन्दा गर्दै विमल गुरुङ अब दार्जीलिङ फर्किन नसक्ने बताएका हुन्। ‘जे भयो त्यो राम्रो भएन,’ तामाङले उल्टो प्रश्न गरे, ‘के यही हो, विमल गुरूङको गान्धीवादी आन्दोलन, यही हो गणतान्त्रित आन्दोलन।’
शुक्रबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीसँग भएको भेटवार्ताबारे भने तामाङले केही कुरा खुलाउन चाहेनन्। तर, गोलीकाण्डको घटनाको निन्दा गर्दै आफूहरू पहाडलाई अर्को कास्मिर बन्न नदिने पक्षमा रहेको बताए।
‘हिंसा होइन, गणतान्त्रिक आन्दोलनमा नै हामी विश्वास गर्छौँ,’ उनले भने, ‘विमल गुरूङ अब पहाड फर्किन सक्ने छैनन्। यो सङ्घर्षलाई विमलले नै नेतृत्व गरेका थिए भन्ने सुनिँदैछ। यो घटनाको जिम्मेवारी विमलमाथि नै जान्छ।’
एके-४७ लगायत अत्याधुनिक हातहतियार भेटिनु नै विमल गुरूङसँग जंगी समूह रहेको प्रमाण हो भन्दै तामाङले घटनामा संलग्नहरू विरुद्ध कठोर सजाय हुनुपर्ने जनाए। गोरखा जनमुक्ति मोर्चाका सचिव रोशन गिरीले भने सार्वजनिक भएका हतियार प्रहरीले नै सजाएर राखेको दाबी गरेका छन्। त्यसको जवाफमा तामाङले प्रश्न गरे, ‘त्यसो हो भने प्रहरी अधिकारी मारिएको घटना पनि सजाइएको हो त?’
तामाङले घटनाको जाँच हुनुपर्ने अनि केन्द्र सरकारले यसमा हस्तक्षेप गर्नुपर्ने बताएका छन्। ‘पेदोङमा हतियार पाउनु चिन्ताजनक कुरा हो, यो विमल गुरूङको ज्वाइँको क्षेत्र हो, पुलिस प्रशासनले सही रूपमा जाँच गर्नुपर्छ,’ तामाङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।