काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध साँधेर काम नगरेको बताएका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आफ्नो मुख्य ध्येय परिणाममुखी काम गर्नु रहेको र त्यसमा कसैलाई पनि पूर्वाग्रह नराखिने बताए। 'मैले कसैप्रति प्रतिशोध साँधेर काम गरेको छैन। मेरो उद्देश्य भनेको सही ठाउँमा सही मान्छे राखेर काम गर्नु हो,' उनले भने।
मन्त्री घिसिङले काममा परिणाम नदेखाई पदमा बसिरहनुको औचित्य नहुनेमा जोड दिए। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा उनले शाक्य आफैँले 'मैले सकिनँ, मलाई सरुवा गर्दा हुन्छ' भनेपछि मात्र निर्णय लिइएको बताए । उनले भनेर नै सल्लाह अनुसार सरुवा गर्दा अदालत गएको सङ्केत गरे ।
उनले शाक्यको सरुवा व्यक्तिगत प्रतिशोध नभई संस्थागत सुधारका लागि आवश्यक कदम चालेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।