काठमाडौं- प्रधामन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बिनाविभागीय बनाउने तयारी गरेका छन्।
प्रधानमन्त्री देउवाले हाल सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै माओवादी केन्द्रका मन्त्रीहरुलाई बिनाविभागीय बनाउने तयारी थालेको प्रधामन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाले राप्रपालाई गृह, उद्योग, सहरी विकास र आपूर्ती मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्। 'आज साँझ बिनाविभागीय मन्त्रीका रुपमा राप्रपाबाट मन्त्री बन्नेहरुले सपथ ग्रहण गर्नेछन्, माओवादीका मन्त्रीलाई बिनाविभागीय बनाएर उनीहरुलाई त्यसमा प्रतिस्थापन गरिनेछ,' प्रधानमन्त्री निकट स्रोतले भन्यो।
माओवादीका तर्फबाट हाल सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी कृष्णबहादुर महराले सम्हालेका छन्। यस्तै, जनार्दन शर्माले गृह, गिरिराजमणी पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा, शिवकुमार मण्डलले आपूर्ति, टेकबहादुर बस्नेतले सामान्य प्रशासन र आशा कोइरालाले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएका छन्।
राप्रपाका तर्फबाट आज साँझ ७ बजे कमल थापासहित मन्त्रीमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले सपथ ग्रहण गर्दैछन्।
माओवादी केन्द्रले भने सरकारमा सहभागी मन्त्रीलाई नहटाउने र सरकारको समर्थन समेत फिर्ता नलिने निर्णय गरेको छ। पार्टीका शीर्ष नेताको बैठकले एमालेसँगको तालमेल मजबुत बनाउने र सत्ता गठबन्धनसँगको पनि सहकार्य कायम राख्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।