विराटनगर– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको ‘श्रम संस्कृति पार्टी’ले आफ्नो प्रारम्भिक घोषणापत्र तथा मुख्य एजेन्डाहरू सार्वजनिक गरेको छ ।
सो पार्टीले मंगलबार नेपालको विद्यमान राजनीतिक, शैक्षिक र प्रशासनिक संरचनामा परिवर्तन गर्ने भन्दै महत्त्वाकांक्षी र कडा प्रस्ताव अघि सारेको हो ।
पार्टीका अध्यक्ष साम्पाङले परम्परागत राजनीतिक दलहरूको विकल्पमा श्रम र उत्पादनलाई केन्द्रमा राख्दै नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने उद्घोष गरेका छन् । पार्टीका केन्द्रीय प्रवक्ता सत्य घले गुरुङद्वारा जारी विज्ञप्ति अनुसार घोषणापत्रले शासकीय स्वरूप, शिक्षा, राष्ट्रियता र अर्थतन्त्रमा आमूल परिवर्तनको प्रतिबद्धता जनाएको छ ।
श्रम संस्कृति पार्टीले वर्तमान संसदीय व्यवस्थाको अस्थिरता अन्त्य गर्न शासकीय स्वरूपमा परिवर्तनको प्रस्ताव गरेको छ । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरिने उल्लेख छ । समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग र जातिको हुनुपर्ने बाध्यात्मक व्यवस्था प्रस्ताव गरिएको छ ।
साथै पार्टीको मुल सिद्धान्त 'हर्कवाद' रहेको छ । ‘प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्नसक्छ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रदानम गर्नुपर्ने, अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै अभाव, गरीबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद,’ उनले भने ।
सांसदहरूको काम कानुन बनाउने मात्र हुने भन्दै पार्टीले ‘सांसद मन्त्री बन्न नपाउने’ र मन्त्री बन्नका लागि सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने व्यवस्था अघि सारेको छ । यदि कुनै सांसद मन्त्री बनेमा उसको सांसद पद स्वतः निलम्बन हुनेछ । निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइने र जनसंख्याको आधारमा संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने बताइएको छ । कार्यकारी राष्ट्रपतिको एक कार्यकाल ५ वर्षको हुनेछ भने एक व्यक्ति २ पटक भन्दा बढी चुनिन पाउने छैन । पार्टीले व्यवस्थापिका संघमा २ सदनात्मक र प्रदेशमा १ सदन व्यवस्थापिका रहने जनाएको छ ।
यसैगरी राज्यको कुनै धर्म नहुने तर व्यक्तिको धार्मिक आस्थाप्रति स्वतन्त्र रहने पनि पार्टीको अवधारणा पत्रमा उल्लेख छ । कसैले करकाप गरेर धर्म परिवर्तन गराउन नहुने, बाध्य नबनाउने, अन्यथा दण्डनीय मानिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
पार्टीको अवाधारणमा श्रम संस्कृति पार्टीको एजेन्डाहरूमा शासकीय स्वरूप, सार्वभौम र राजकीय सत्ता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीति, नागरिकता, व्यवस्थापिका, मौलिक हक एवं मानवअधिकार, लोकतान्त्रिक मूल्य र मान्यता, नागरिक सरकार र कार्यपालिका, प्रदेश सरकार संरचना, न्यायापालिका, धर्मनिरपेक्षता र स्वतन्त्रता, बहुभाषिक नीति, आत्मनिर्णय, स्वशासन र स्वायत्तता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सुरक्षा प्रणलीलगायत बुँदाहरू रहेका छन् ।
श्रम संस्कृति पार्टीको अवधारणाअनुसार जेनजी पुस्तालाई उत्पादन, निर्माण र आविष्कारमा लगाउने, जीवनपयोगी शिक्षा पद्दति लागु गरी हप्ताको ३ दिन मात्र पढाउने व्यवस्था मिलाएर पढ्ने विषयवस्तु र कितावको संख्या, पाठ्यभार घटाउने नीति पनि रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।