काठमाडौँ – प्रदेश स्तरीय सुरक्षा गोष्ठीका क्रममा कैलालीको धनगढी पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुने’ दाबी गरेका छन् ।
सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै अर्यालले फागुन २१ गतेको निर्वाचन ‘पर नसर्ने’ बताए ।
‘सरकारको मुख्य जिम्मेवारी नै निर्वाचन हो,’ गृहमन्त्री अर्यालले भने, ‘भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ ।’
अर्यालका अनुसार निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भइसकेको छ । राजनीतिक दललाई निर्बाध रूपमा चुनावी गतिविधि गर्ने वातावरण सरकारले बनाइरहेको छ ।
‘यो साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौँ । कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन ,’ गृहमन्त्री अर्यालले भने ।
गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।