काठमाडौँ – नेपाली कांग्रेसले माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई परिपत्र गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार परिपत्र गरेका हुन् ।
‘११ माघ २०८२ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनतर्फको उम्मेदवारीका लागि विधानको धारा ३२ को उपधारा ९ (क) बमोजिम तथा प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक सदस्यहरूको निर्वाचनतर्फको विधानको धारा ३२ को उपधारा ८ (क) बमोजिमको प्रक्रिया पुर्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत स्पष्ट निर्देशनसहित परिपत्र गर्ने,’ केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयमा लेखिएको छ ।
कांग्रेसले तल्ला निकायबाट मंसिर मसान्तभित्र नाम आइसकेपछि प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका उम्मेदवारको टिकट एकै पटक वितरण गर्ने बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।