काठमाडौं- पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले काठमाडौं क्षेत्र नम्बर ४ मा अभिनेत्री रेखा थापाको नाम सिफारिस गरेको छ। उक्त क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता गगन थापाको नाम सिफारिस भइसकेको छ।
राप्रपा प्रजातान्त्रिकले अभिनेत्री रेखालाई आज सहमहामन्त्री एवं पार्टीको प्रवास प्रमुख नियुक्त गर्दै प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं ४ का लागि नाम सिफारिस गरेको हो। योसँगै पार्टीले रेखालाई काठमाडौं ६ र सर्लाहीको ३ मा पनि सिफारिस गरेको छ।
रेखालाई पार्टीले टिकट दिएमा तीनमध्ये कुनै एकबाट निर्वाचन लड्न पाउनेछिन्। कमल थापा नेतृत्वको राप्रपाबाट हालै मात्र पशुपति शमशेर नेतृत्वको पार्टीमा आएकी हुन्। पार्टी एकीकरणपछिको एकता महाधिवेशनमा धेरै मत बटुलेर केन्द्रीय सदस्यमा निर्वाचित रेखा कुनै जिम्मेवारी नपाएपछि कमल थापासँग असन्तुष्ट रहँदै आएकी थिइन्।
नेपाल लाइभसँग कुरा गर्दै उनले पार्टीले गरेको विश्वासलाई आफ्नो कामले पुष्टि गर्ने बताइन्। 'राजनीतिमा नयाँनयाँ नै छु। पार्टीका अग्रज र साथीहरूको सहयोगमा आफ्नो जिम्मेवारी पूरा गर्नेछु,' उनले भनिन्।
पार्टीको निर्णय अनुसार आगामी चुनावमा कुन क्षेत्रबाट लड्ने भन्ने टुंगो लाग्ने उनले बताइन्।
काठमाडौंको ४ नम्बर क्षेत्रमा विवेकशील साझा पार्टीले पनि २६ वर्षीया सुबुना बस्नेतलाई अघि सारेको छ। एमालेबाट भने सांसद राजन भट्टराईको उठ्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।