एजेन्सी– हङकङमा भएको आगलागीमा मृतकको सङ्ख्या ९४ पुगेको छ।
हङकङको अग्निनियन्त्रक विभागलाई उदृत गर्दै स्थानीय समाचार संस्थाहरूले घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या ९४ पुगेको उल्लेख गरेका छन्। घटनामा ७६ जना घाइते भएका छन्।
जसमा १० जना अग्निनियन्त्रकहरू पनि छन्। ती भवनहरूमा अझै केही मानिस फसेका छन् भने ३०० भन्दा बढी मानिसको अवस्था अज्ञात छ। विगत ७० वर्षयता त्यहाँ भएको आगलागीमध्ये यसलाई सबैभन्दा भीषण मानिएको छ।
सयौँ अग्निनियन्त्रकहरू आगो निभाउने प्रयासमा लागेका छन्। वाङ्फुक कोर्टस्थित प्रभावित सातमध्ये चारवटा भवनमा आगो नियन्त्रणमा आइसकेको छ। आवासीय भवनहरू भएको उक्त क्षेत्रमा बुधवार दिउँसो आगो फैलिँदा मर्मतसम्भारको काम हुँदै थियो।
आगलागीको स्पष्ट कारण थाहा भइसकेको छैन। तर प्रहरीले ती भवनहरूबाहिर भएका वस्तुका कारण आगो चाँडै फैलिएको जनाएको छ। प्रहरीले निर्माण कम्पनीका तीन अधिकारीहरूलाई मनसायरहित हत्या र गम्भीर लापरबाही गरेको आशङ्कामा पक्राउ गरेको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘आगो निभाउन खटिएका एक अग्निनियन्त्रक’ सहित पीडितहरूप्रति समवेदना प्रकट गरेका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। आगलागीबाट विस्थापित भएका मानिसहरूलाई नजिकै रहेका आपत्कालीन आश्रयस्थलमा लगिएको छ।
आगो लाग्दा वाङ्फुक कोर्टमा कति मानिस थिए भन्ने अझै अस्पष्ट छ। सन् २०२१ को जनगणनाअनुसार ती बहुतले भवनहरूमा १,९८४ वटा अपार्टमन्ट थिए। तिनमा ४ हजार ६०० मानिसहरू बस्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।