काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेशनल भोलेन्टियर फोर्सले देश र जनताको रक्षा गर्ने दावी गरेका छन्।
शुक्रवार काठमाडौँमा एक कार्यक्रमबीच उक्त फोर्स घोषणा कार्यक्रममा बोल्दै उनले उक्त दावी गरेका हुन्।
अध्यक्ष ओलीले राज्यका संयन्त्रले मात्रै मुलुक र जनताको जीउधनको सुरक्षा गर्न नसक्ने कुरा हालै भएको जेनजी आन्दोलनको क्रममा देख्नु, भोग्नु परेकाले पनि आफ्नो पार्टीले उक्त फोर्समार्फत देश र जनताको सुरक्षा गर्ने बताए। उनले सो फोर्स राष्ट्रिय हितमा समर्पित हुने भएकाले यसबाट कोही पनि आत्तिनुनपर्ने बताए।
ओलीले भने,‘एमालेप्रति विमति राख्ने अथवा खुदै यो संगठनप्रति असहमति राख्नेहरूको पनि जीउधन र अधिकारको रक्षा गर्न यो गठन भएको हो। त्यसकारण यसको अस्तित्व र विकाससँग कोही पनि तर्सिनु पर्दैन। राज्यको संयन्त्रले मात्रै राज्य र जनताको जीउधन र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसक्ने भएपछि त्यसको सुरक्षाका लागि यसको स्थापना गरिएको हो।’
अध्यक्ष ओलीले सो फोर्सले राष्ट्रिय हितको क्षेत्रमा काम गर्ने समेत पटक पटक दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।