काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
२१ फागुनका लागि तय भएको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको महाधिवेशनबारे जारी विवादमा सहमति खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।
बैठक ललितपुरको धोबीघाटमा आज (शक्रबार) दिउँसो १ बजे बस्ने कांग्रेसले जनाएको छ। चुनावअघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा सहमति जुटाउन बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए।
२८ असोजदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावअघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने विषयमा नेताहरू विभाजित छन्। हिजो बोल्ने क्रम सकिए पनि निर्णय लिन दुई दिन बैठक स्थगित गरिएको छ। महामन्त्री गगन थापाले हिजो विशेष महाधिवेशनका लागि मंसिर २७ गतेको मिति प्रस्ताव गरेका थिए। अर्का महामन्त्री शर्माले नियमित महाधिवेशन नगरिए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानतः बाध्यता रहेको धारणा राखेका थिए।
यसैबीच विशेष महाधिवेशन पक्षधरहरुले युवा भेला आह्वान गरेका छन्। दिउँसो साढे १२ बजे बानेश्वारको एक बैंक्वेटमा भेला आयोजना गरिएको नेता मनोजमणि आचार्यले जानकारी दिए। उनका अनुसार विशेष महाधिवेशनका ५४ प्रतिशत हस्ताक्षर संकलन भइसकेकाले त्यसअनुसार अघि बढ्न दबाब दिइनेछ।
यसअघि पनि हस्ताक्षर संकलनकर्ता पक्षले यसबारे केन्द्रीय कार्यसमितिमा पर्याप्त छलफल नभएको भन्दै दबाब बढाउँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।