काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेन-जी आन्दोलनका क्रममा जेल फोडेर भागेका कैदीबन्दी र प्रहरी ब्यारेक तथा कार्यालयबाट लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतसँग आग्रह गरेका छन् ।
नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन दिल्ली पुगेका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भागेका कैदीबन्दी र लुटिएका हतियारले सुरक्षा चुनौती थपिएको भन्दै यसलाई नियन्त्रण गर्न भारतीय पक्षसँग अनुरोध गरेका हुन् ।
महानिरीक्षक अर्याल नेतृत्वको ८ सदस्यीय उच्चस्तरीय टोली मंगलबार दिल्ली प्रस्थान गरेको थियो । त्यसको भोलिपल्ट बुधबारबाट सुरु सीमा सुरक्षा बैठकमा अर्यालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)मा महानिर्देशक सञ्जय सिंघलसँगको भेटमा भागेका कैदीबन्दी र लुटिएका हतियारबारे विषय राखेका हुन् ।
बैठकमा सहभागी स्रोतका अनुसार एसएसबीका महानिर्देशक सिंघलले यसबाट दुवै देशका लागि सुरक्षा चुनौती थपिएको भन्दै नियन्त्रणमा सहयोग गर्ने वचन दिएका हुन् । २४ भदौमा देशभरका २८ कारागार र सुधार गृहबाट १४ हजार ४३ कैदीबन्दी जेल तोडेर फरार भएकामा अझै ५ हजार बढी पक्राउ परेका छैनन् ।
जेलबाट भागेकामध्ये हाल फरार अवस्थामा ५ सय २० जना भारतीय नागरिक र बाँकी ९९ जना तेस्रो देशका नागरिक छन् । भागेका भारतीयसहित विदेशी र नेपाली कैदीबन्दी स्थलमार्गबाट भारतमा लुकेर बसेको हुनसक्ने भन्दै महानिरीक्षक अर्यालले यस विषयलाई गम्भीर रूपमा लिएर खोजबिनमा सहयोग पुर्याउन आग्रह गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।