काठमाडौं– मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले उक्त धारणा राखेका हुन् । युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाई अगाडि बढाउनुपर्ने नेता रावलले बताए ।
मुलुकको विकास र शान्ति सुव्यवस्थाका लागि कम्युनिस्टहरु एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको समेत दाबी गरे । उनले भने, ‘देशभक्त, प्रगतिशील कम्युनिस्टहरू एकताबद्ध, निस्वार्थ भएर र नेतृत्वले पनि देशभक्त पार्टी बनाउँछु भनेर कम्मर कसेन भने हाम्रा क्षेप्यास्त्र खाने दिन धेरै टाढा छैनन्,' उनले भने, 'त्यसैले नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाऔँ, क्षेप्यास्त्र रोकौं । बाहिरी हस्तक्षेप र देशलाई टुक्रिनबाट रोक्न नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाएर लैजानुपर्छ । खेत बाँझो हुन, युवाहरुलाई विदेश जानबाट रोकौं ।’
उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सत्ता स्वार्थ र अहंकारका कारण तत्कालीन नेकपा नटिकेको उल्लेख गरे । ओलीको अहंकारी र घमण्डी चरित्रकै कारण एमाले आज स्वर्गीय नेता मदन भण्डारीको परिवारको समेत हुन नसकेको टिप्पणी गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।