काठमाडौं– बेलायत सञ्चारमाध्यम बीबीसीका निवर्तमान महाप्रबन्धक टिम डेभीले पत्रकारिताका लागि लड्न बीबीसीका कर्मचारीहरूसँग आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीसँग १ अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने चेतावनी दिएपछि उनले यस्तो आग्रह गरेका हुन् ।
बीबीसीका अध्यक्ष समिर शाह र डेभीले मंगलबार कर्मचारीसँग ४० घण्टा अन्तरक्रिया गरेका थिए ।
पानारोमा सिरिजअन्तर्गतको 'ट्रम्प: अ सेकन्ड चान्स ?' डकुमेन्ट्रीमा प्रयोग गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको अंशलाई लिएर बीबीसीमाथि प्रश्न उठेपछि महाप्रबन्धक डेभी र समाचार समाचार विभाग प्रमुख डेबोरा टर्नेसले आइतबार राजीनामा दिएका थिए । उक्त वृत्तचित्र सन् २०२४ को अमेरिकी चुनावको एक साताअघि प्रसारणमा आएको थियो ।
गत साता बेलायती पत्रिका टेलिग्राफमा बीबीसीको विश्वसनीयतामाथि प्रश्न गर्दै समाचार प्रकाशित भएपछि यो वृत्तचित्र विवादमा तानिएको हो ।
ट्रम्पले ६ जनवरी २०२१ मा वासिङ्टन डीसीमा गरेको भाषणमा भनेका थिए, 'हामी क्यापिटलतिर जाने छौँ । अनि हाम्रा साहसी सिनेटरहरू र कंग्रेसमेन/वुमनको हौसला बढाउने छौँ।'
तर यस भिडियोको सिलसिला भंग गरेर एकैपटक अन्त्यतिरको भिडियो जोडिएको छ । 'हामी क्यापिटलतिर जाने छौँ। अनि त्यहाँ म तपाईँहरूसँगै हुने छु। अनि हामीहरू लडाँइ गर्छौँ। हामी बेस्सरी लडाँइ गर्छौँ ,' वृत्तचित्रमा देखाइएको छ ।
अमेरिकी संघीय सदन रहेका क्यापिटल कम्प्लेक्समा उक्त दिन रिपब्लिकन पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । बीबीसीमाथि खराब एडिटिङ गर्दै वृत्तचित्र हेर्नेहरुलाई ट्रम्पले नै आक्रमणका लागि उकासेकोजस्तो देखाउन खोजेको आरोफ छ । ट्रम्पले चुनावको मुखमा आफ्नो छवि बिगार्नेगरी सुनियोजित रुपमै यस्तो गरिएको आरोप लगाएका छन् ।
बीबीसीका महाप्रबन्धक डेभी र समाचार प्रमुख टर्नेसले त्रुटि स्विकार गर्दै राजीनामा दिइसकेका छन् । 'त्रुटिहरू भएका छन् । तर संस्थागत रूपमै बीबीसी पूर्वाग्रही छ भन्ने अहिलेका आरोपहरू गलत छन्,' नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएकी समाचार विभाग प्रमुख टर्नेसले भनेकी छिन् ।
ट्रम्पले बीबीसीमाथि १ बिलियन अमेरिकी डलर क्षतिपूर्ति माग्दै मुद्दा चलाउने चेतावनी दिएका छन् । ट्रम्पले विगतमा सीएनएन, सीबीएसलगायत विभिन्न सञ्चारमाध्यममाथि आफूविरुद्ध खडा भएको आरोप लगाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।