काठमाडौं– नेकपा एमालेमा समाहित भएकी नेतृ रामकुमारी झांक्रीले आफू कुनै व्यक्तिगत अवसर र लाभका लागि एमालेमा नफर्किएको दाबी गरेकी छिन्।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानमार्फत पार्टी प्रवेश गरेकी उनले सम्बोधनको क्रममा हजारौं पार्टी सदस्यहरूले प्राप्त गर्ने अवसरमा लामबद्ध हुन एमालेमा आएको बताइन्।
‘सुस्केरा काढ्ने एउटै फलैचामा बसेकै राम्रो हुन्छ। बाँकी नौजवान साथीहरू आउनुस्, गोलबन्द बनौं। रामकुमारी झांक्री कुनै अवसर खोजेर न हिजो हिँडेको न आज हिँडेको,’ उनले भनिन्, ‘म आज भन्दैछु, सयौं आँखा र नेतृत्वको अगाडि कुनै अवसर होइन। अवसरहरू निर्माण गर्न हजारौं पार्टीका सदस्यहरूले अवसर प्राप्त गर्ने संघर्षमा लामबद्ध हुन आएको हुँ। व्यक्तिगत अवसर र लाभका लागि होइन।’
झांक्रीले जेनजी आन्दोलनको स्वामित्व लिन खोज्नेहरूले सिंहदरबार, सर्वोच्च अदालत र निजी घर व्यापारिक भवन जलाउनेहरूले त्यसको जवाफ दिनुपर्ने बेला भएको बताउदै जेनजी आन्दोलन पछि एमाले एक्लै देशको राष्ट्रियता जोगाउन लागि परेको भन्दै फागुन २१ गते चुनाव भएपनि एमाले नै जनताको रक्षक शक्ति भएको दाबी गरिन्।
जेनजी आन्दोलन एउटा पुस्ताको आक्रोश भएपनि त्यसको आडमा रोटी सेक्नेहरू तत्कालीन सरकारविरुद्ध लागेर विध्वंसमा लागेको आरोप झाँक्रीको छ।
‘जेनजीको नाममा जे भइरहेको थियो र गरिएको थियो त्यो त्यो नितान्त सरकारविरुद्धको प्रहार थियो भन्ने लाग्छ’, झाँक्रीको भनाई छ।
‘इतिहासमा जे भएको थियो, जुन परिस्थितिमा भएको थियो त्यसको लागि सजाय तोक्न समयलाई नै दिन्छु’, झाँक्रीले अध्यक्ष केपी ओलीलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै भनिन्, ‘खासगरी नेकपा एमाले नै नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मात्र होइन, लोकतान्त्रिक आन्दोलन, विकास, सुशासन र सम्मृद्धिको आकाङ्क्षा देखाउने पार्टी पनि एमाले नै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।