काठमाडौं– नेपाली कांग्रेसले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई ‘निन्दनीय’ भनेको छ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दु:खद छ। नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ।’
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १०३ बमोजिम एमाले दलका नेता सरोज कुमार यादवलाई कात्तिक २३ गतेको पत्रमा आज बिहान मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन्।
अस्वस्थ भएकाले काठमाडौं जान्छु भन्दै आज बिहान निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले सिन्धुली र महोत्तरीको सिमानामा पर्ने एक होटलमा यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाएकी थिइन्।। संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन्।
कांग्रेस महामन्त्री शर्माले संविधानको धारा १६८(२) को सरकार बन्ने संभावना छँदै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन गरिएकोमा विरोध जनाएका छन्। साथै यसलाई न्यायालयले सच्याउने अपेक्षा पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।