काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै समसामयिक राजनीतिबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्।
अर्यालले संसदको पुनर्स्थापनाले निकास नदिने मत आफ्नो प्रतिवेदनमा राखेका छन्। दलहरूले देशलाई पुन लोकतान्त्रिक बाटोमा फर्काउन फागुन २१ को निर्वाचनमा सम्पूर्ण शक्ति र अर्जुन दृष्टि लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले न्यायिक निरूपण गर्ला नै। तर, कथम् संसद पुनर्स्थापना भयो भने फेरि पुगिने त्यहाँ नै हो, जुन संसदले सरकार त देला तर जेनजी आन्दोलनको म्यान्डेट र जनभावना अनुसार निकास दिन सक्दैन।’
विस्तारित बैठकले पनि पार्टीमा संरचनात्मक फेरबदल गर्न नसक्ने उनले बताए। ‘तर, विधानको धारा ८७ को असाधारण प्रयोगबाट केन्द्रीय समितिले आह्वान गरेको विस्तारित बैठकले केन्द्रीय समितिलाई नै सुझाव दिने उद्देश्य राखेको चाहिँ बुझ्नु पर्छ,’ प्रतिवेदनमा उल्लेख छ।
आग्रह पूर्वाग्रह, व्यक्तिगत महत्वकांक्षा वा क्षणिक आत्मसन्तुष्टिका लागि नभई पार्टी 'रिफर्म' बारे निरन्तर पार्टीका सबै संरचनामा गम्भीर र सार्थक बहस चलाउनुपर्ने निष्कर्षमा अर्याल पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।