काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदैछ।
एकतामा सहभागी दलहरुले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न लागेका हुन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो। गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन्।
एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ। पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ। यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो।
मूल पार्टी एकतामा जाँदा केही नेताहरू भने अलग्गिएका छन्। माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरु बाहिरिएका छन्। नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन्।
उता एकीकृत समाजवादीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल, घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरु पनि बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।