काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।
शुक्रबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।
१५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ। शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो।
बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेका थिए।
पार्टीभित्र डा शेखर कोइराला नेतृत्वको इतर समूह आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ। समूहका नेता डा कोइरालाले एक वर्ष अगाडिदेखि नै पार्टी महाधिवेशन २०८२ मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सकेसम्म मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भन्दै आएका छन्।
महामन्त्रीद्वय थापा र शर्माकै निर्देशनमा युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए।
आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन्। बैठक बिहान ९ बजे ललितपुरस्थित धोबीघाटमा बस्ने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।