काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा बिग्रह आउनेबारे कसैले नसोच्दा हुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले कांग्रेस एकढिक्का रहने बताएका हुन्।
‘नेपाली कांग्रेस पार्टी बिग्रह होला भनेर कसैले सोचेको छ, कसैले धुप हालेको छ भने बिल्कुलै नसोचे हुन्छ,’ शर्माले भने, ‘मैले यो व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन, नेपाली कांग्रेस पार्टीको महामन्त्रीको हिसाबले म स्वदेश, विदेशमा रहेका सबै शुभचिन्तकलाई भन्न चाहन्छु, कांग्रेस एकढिक्का रहन्छ ।’
महामन्त्री शर्माले पछिल्लो विकसित राजनीतिक घटनाक्रम अनुसार कांग्रेसले आफूलाई परिमार्जन गरेर समाजमा परिवर्तन ल्याउने गरी अगाडि बढ्ने पनि बताए ।
‘बदलिएको परिस्थिति बमोजिम आफूलाई बदल्छ । र समाजलाई बदल्ने गरी अगाडि जान्छ,’ उनले भने ।
महामन्त्री शर्माले जनेजी आन्दोलनपछि पार्टीमा देखिएको पछिल्लो विवाद छलफलका माध्यमबाट निष्कर्षमा पुग्ने पनि बताए । ‘यहाँ त फरक मतहरू आउँछन्, फरक विचारहरू आउँछन्,’ उनले भने, ‘नेपाली कांग्रेस पार्टी यस्तो अवस्था आउँदै गर्दा यसलाई सहज छलफल, हार्दिक छलफल गरेर एउटा निष्कर्षमा पुग्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।