काठमाडौं- पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ।
कतारको दोहामा दुई देशका प्रतिनिधिबीच भएको लामो छलफलपछि आइतबार युद्धविराम गर्ने सहमति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ।
कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा तत्काल युद्धविराम गर्ने र स्थायी शान्ति कायम गर्नका लागि दुवै देशले संयन्त्र गठन गर्ने सहमति भएको पनि कतारी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
झन्डै १३ घन्टासम्म चलेको वार्तमा पाकिस्तानबाट रक्षामन्त्री ख्वाजा आसिफ र गुप्तचर प्रमुख जनरल असीम मलिकले नेतृत्व गरेका थिए भने अफगानिस्तानबाट रक्षामन्त्री मौलवी मुहम्मद याकुब र राष्ट्रिय गुप्तचर एजेन्सीका प्रमुख सहभागी थिए।
कतारी विदेश मन्त्रालयले यो सहमतिले सीमाक्षेत्रमा तनाव कम गर्ने र क्षेत्रीय स्थिरताका लागि आधार तयार पार्ने आशा व्यक्त गरेको छ। अक्टोबर ११ देखि १५ सम्म स्पिन बोल्डक, चमन, कुर्म, पक्तिया, पक्तिका, कुनर, खोस्ट, कन्दाहार र हेलमन्दमा पाकिस्तान र अफगानिस्तानको सेनाबीच भिडन्त भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।