काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भइराखेको बताएका छन् ।
गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सुरक्षा चुनौती थप्ने खालका गतिविधिहरू भइराखेको बताएका हुन् ।
उनले भनेका छन्, ‘सुरक्षा हामीले दिइराखेका छौं । बरु सुरक्षा समस्या नेशनल सेक्युरिटी क्राइसिस थप्ने खालका गतिविधिहरू कहीँ कैतबाट भएका छन् ।’
उनले भने, ‘जो चाहीँ अपदस्थ भा’थे त्यहाँबाट (सुरक्षा चुनौती थप्ने गतिविधि) भइरहेका छन् । त्यसलाई निगरानी गरेर गरेर सुरक्षा दिन्छौं । निगरानी गर्नुपर्ने तत्वहरू को हुन् भनेर थाहा पाएका छौं ।’
तथापि, कतिपय एलिमेन्टहरू जसले समस्याहरू निम्त्याउन सक्लान्, जुन एलिमेन्टहरूले केही गर्लान् र तिनीहरूलाई काबुमा राख्नुपर्ला भन्ने सोचिएको थियो त्यसभन्दा फरक रूपमा गतिविधि हुन थालेको उनले बताए ।
जेनजी आन्दोलनले विस्थापित गरेका नेताहरू नै सुरक्षा थ्रेटका रूपमा देखा पर्न खोजेको उनको संकेत छ ।
विस्थापित भएका दलहरूले के बोध गर्नुपर्ने थियो भनेर उनले सुझाएका छन्, ‘जो विस्थापित भएका थिए, विद्रोहले जसलाई विस्थापित गरेको थियो, अपदस्थ गरेको थियो तिनीहरूलाई बोध हुनुपर्ने- हामीले सुशासन दिन नसकेको कारणले, हामीले कुशासन गरेको कारणले यो परिस्थिति आएको थियो । यसमा हामीले क्षमा माग्छौं । हामी स्टेप डाउन हुन्छौं ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।