काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्यूनिकरणको महत्व बोध गराएको उनले बताए।
भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण रहेको उनको भनाई छ। नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरूको उच्च जोखिम रहेको उनले बताए। विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए । संविधान, राष्ट्रिय नीति तथा कानूनहरूले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरू सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको उनले जानकारी दिए।
केन्ददेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा विभिन्न संयन्त्रहरू क्रियाशिल रहेको उनको भनाई छ। उनले बाढी तथा डुवानजस्ता जोखिमहरूको पूर्व जानकारीका लागि अर्ली वार्निङ सिस्टमको विस्तार गरिएको पनि जानकारी दिए।
उनले समुदायको अग्रसरताविना विपद् न्यूनिकरण सम्वभ नभएको बताउँदै विद्यालयस्तरदेखि स्थानीय तहसम्म सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिएको बताए। विपद् जोखिम न्यूनिकरण सरकारको मात्रै नभएर सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको उनको भनाई छ। नीति निर्माणदेखि कार्यन्वयनसम्म, जनसाधारणदेखि प्राविधिक विज्ञसम्म सबैको समन्वय, सहकार्यविना दिगो समाधान सम्भव नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।