काठमाडौं- अभिनेत्री रेखा थापा पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को सहमहामन्त्री एवं पार्टीको प्रवास प्रमुख नियुक्त भएकी छन्।
थापाले नियुक्तिको पत्र आजै बुझ्ने पार्टीका केन्द्रीय सदस्य रविन चाम्लिङले नेपाल लाइभलाई बताए। कमल थापा नेतृत्वको राप्रपामा थापालाई प्रवेश गराउन चाम्लिङले नै भूमिका खेलेका थिए। यससँगै थापा काठमाडौं क्षेत्र नम्बर ४ र ६ एवं सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि सिफारिसमा परेकी छन्। यी दुईमध्ये एक क्षेत्रबाट रेखाले चुनाव लड्नेछिन्।
पार्टी एकीकरणपछिको एकता महाधिवेशनमा धेरै मत बटुलेर केन्द्रीय सदस्यमा निर्वाचित रेखा कुनै जिम्मेवारी नपाएपछि कमल थापासँग असन्तुष्ट रहँदै आएकी थिइन्।
नेपाल लाइभसँग कुरा गर्दै अभिनेत्री थापाले पार्टीले गरेको विश्वासलाई आफ्नो कामले पुष्टि गर्ने बताइन्।
'राजनीतिमा नयाँ नयाँ नै छु। पार्टीका अग्रज र साथीहरूको सहयोगमा आफ्नो जिम्मेवारी पूरा गर्छु,' उनले भनिन्।
यस्तै, पार्टीको सल्लाहमा पार्टीको निर्णय अनुसार आगामी चुनावमा कुन क्षेत्रबाट लड्ने भन्ने टुंगो लाग्ने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।