काठमाडौँ– नेकपा एमालेका महासचिव योगेश भट्टराईले गल्ती र कमजोरीबाट सिक्दै पार्टी र आन्दोलनलाई पुनर्गठन गर्ने बताएका छन्।
बिहीबार एक अपिल सार्वजनिक गर्दै भट्टराईले पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे भनेका छन्– ‘गल्ती र कमजोरीहरूबाट हामी सिक्नेछौँ। र पार्टी र आन्दोलनलाई पुनर्गठन गर्नेछौँ।’
भट्टराईले मार्क्सले भनेजस्तै ‘इतिहासमा कुनै पनि अवस्था स्थायी नहुने निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुने पनि बताएका छन्।
‘इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरुमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन् गर्नु जरुरी छ। त्यही स्वीकारोक्ति सहितको अभियानका लागि अपिल समेत गर्दछु,’ उनले भनेका छन्, ‘आत्मभर्त्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौं।’
संकटका बेला आन्दोलन र पार्टी पुनर्गठन भएका थुप्रै उदाहरण रहेको पनि भट्टराईले उल्लेख गरेका छन्। जस क्रममा १९ माघको घटनापछि एमालेकै पुनर्गठन भएको सन्दर्भ समेत उनले राखेका छन्।
‘१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नटा छाएको थियो। त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुनर्गठनको बहस चलायो,’ उनले भनेका छन्, ‘अन्ततः नेकपा एमालेको नवौं महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार गर्यो। पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्यो। पार्टी बच्यो, आन्दोलन सफल भयो।’
उनले आत्मभर्त्सना बन्द गर्न र आत्मसमिक्षा गर्न पनि नेताहरूलाई आह्वान गरेका छन्। भट्टराईले एमालेमा पनि पुनर्गठनबारे प्रश्नहरू उठिरहेको भन्दै ग्राम्सीले भने जस्तै नेकपा (एमाले)लाई र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्ने बताएका छन्।
तर पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा इतिहासको बेवास्ता र अपमान कदापि गर्नु नहुने बताएका छन्। ‘पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरूसँगै थियौँ। यो जस–अपजसको भागीदार हामी पनि हौँ’, भट्टराईको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।