काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ।
प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाहरु प्रस्तुत गरेका छन्।
बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। प्रस्तावउपर केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन्।
बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकता लगायत विषयमा छलफल हुनेछ।
बैठकमा विकसित राजनीतिक परिस्थितिबारे प्रचण्डले समसामयीक राजनीतिक प्रस्तावबारे छलफल गरी निर्णय लिने माओवादी केन्द्रले जनाएको छ। त्यसपछि आगामी महाधिवेशनको मिति र स्थान तय गरिने नेताहरुले बताएका छन्।
प्रवक्ता अग्नि सापकोटाका अनुसार जेनजी युवा आन्दोलनपछि विकसित राजनीतिक परिस्थ्तििमा पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने लगायतका विषयमा छलफल हुनेछ।
माओवादीका उपमहासचिव जनार्दन शर्माले समसामयीक परिस्थितिमा पार्टीको नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने विशेष महाधिवेशनको माग गर्दै आएका छन्। जनेजी युवा आन्दोलनपछि उनले अध्यक्ष प्रचण्डको राजीनामा नै मागेका छन्।
बैठकको शुरुआत गर्दै महासचिव देव गुरुङले अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनसहितका प्रस्ताव पेश गर्ने जानकारी दिए।
उनले बैठकमा केन्द्रीय सदस्यहरूको समूहगत छलफलबाट प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने जानकारी दिएपछि केही युवा उठेर आपत्ति जनाएका थिए।
पूर्वपर्यटनमन्त्री समेत रहेका सुदन किराती,रन्जित तामाङसहितले जति दिन लागेपछि समूहमा नभई बैठकमा हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने भनेपछि होहल्ला भयो। त्यसपछि महासचिव गुरुङले मिडियाकर्मीलाई बाहिर जान आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।