रौतहट– बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा ठूलो मात्रामा गाँजा बोकेको मिनी ट्रक सहित चालक पक्राउ परेका छन्।
शनिबार दिउँसो करिब १ बजेतिर अमलेखगंजस्थित प्रहरी चौकी अगाडि गरिएको चेकजाँचका क्रममा हेटाैँडादेखि विरगञ्जतर्फ जाँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रक रोकि चेकजाँच गर्दा प्रहरीले गाँजा फेला पारेको हो।
इलाका प्रहरी कार्यालय अमलेखगंजका बरिष्ठ सई धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मिनि ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपेर लुकाइछिपाइ गरिएको अवस्थामा प्रहरीले २८ पोका गाँजा फेला पारेको हो।
उक्त गाँजा प्लास्टिकमा प्याक गरिएको र तौल गर्दा करिब २३६ किलो ७५० ग्राम रहेको पुष्टि गरिएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए।
गाँजासहित मिनि ट्रक र ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १० बस्ने ३८ वर्षीय रमेश रुम्बालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गाँजा, मिनि ट्रक र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय अमलेखगंजमै राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।