काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीको सपथ आजै हुने भएको छ।
राष्ट्रपति कार्यालयले साँझ ७ बजे सपथ ग्रहणको कार्यक्रम राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् विस्तारबारे निर्वाचन आयोगसँग परामर्श समेत गरेकी थिइन् । आयोगले आचारसंहितामा मन्त्रिपरिषद् विस्तार सम्बन्धमा स्पष्ट व्यवस्था नभएको तर निर्वाचनको समयमा विस्तार गर्ने प्रचलन गलत रहेको जानकारी राष्ट्रपतिलाई गराएको थियो।
'राष्ट्रपतिसँग आचारसंहिताबारे छलफल भएको हो, हामीले स्पष्ट व्यवस्था केही छैन भन्ने जानकारी गरायौं', प्रवक्ता नवराज ढकालले भने।
त्यसपछि राष्ट्रपति कार्यालयले साँझ ७ बजे सपथ खुवाउने निर्णय गरेको हो।
'राष्ट्रपति कार्यालयबाट सपथ रोक्ने समाचार निराधार हो । साँझ ७ बजे मन्त्रीहरुको सपथ तय भइसकेको छ', राष्ट्रपतिका स्वकीय सचिव नवराज गौतमले भने।
राप्रपाबाट अध्यक्ष कमल थापासहित आठ मन्त्री सरकारमा जान लागेका हुन् । थापाले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय सम्हाल्ने भएका छन् । यसैगरी, उद्योग, सहरी विकास र आपूर्ति मन्त्रालय पनि राप्रपाले पाउने भएको छ।
कांग्रेस नेतृत्वको लोकतान्त्रिक मोर्चामा सहभागी भएपछि राप्रपा सरकारमा गएको हो । थापासहित मन्त्रीमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ । यस्तै, राज्यमन्त्रीका रुपमा कुन्तीकुमारी शाही, भाष्कर भद्रा, सुशीलकुमार श्रेष्ठ र कान्ता भट्टराई पनि सरकारमा सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।