काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीलाई पार्टीका हरेक तहमा समेट्ने प्रस्ताव राखेका छन्।
पेरिसडाँडामा चलेको पदाधिकारी बैठकका आकस्मिक बैठकमा बोल्दै प्रचण्डले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले जेनजी र युवालाई समेट्नै पर्ने बताएका हुन्।
प्रचण्डले पार्टीलाई जरैदेखि पुनर्गठन गर्ने पनि बताए। प्रचण्डले वडा, पालिका, जिल्ला र प्रदेशको अधिवेशनमा युवा र जेनजीलाई कोटा निर्धारण गर्नुको विकल्प नभएको प्रस्ताव गरेको एक पदाधिकारीले बताए।
उनले त्यसका लागि एक साताभित्र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउने प्रस्ताव पनि राखेका छन्।
देशको वर्तमान अवस्था, पछिल्ला राजनीतिक घटनाक्रमको विकास र माओवादी पार्टीले लिने कदमबारे बोल्दै प्रचण्डले सबै समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेको एक पदाधिकारीले बताए।
प्रचण्डको भनाइ उदधृत गर्दै ती पदाधिकारीले भने, ‘आयोजक समितिको संयोजक मात्र बनाएर जाऊँ, अहिले भएका केन्द्रीय, स्थायी र पदाधिकारी सबै खारेज गरौँ, यसको लागि अबको एकहप्ताभित्र आकस्मिक केन्द्रीय समितिको बैठक राखौँ र निर्णय गरौँ।’
जेनजीले भदौ २३ गते देशका केही जिल्लामा प्रदर्शन गरेका थिए। शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्न पुगेपछि प्रहरीले गोली चलाएको थियो। आक्रोशित युवाले भदौ २४ गते देशभर प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाडेका थिए।
त्यसपछि सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी छन्। उनले संसद् विघटन गरेर फागुन २१ गते प्रतिनिधिसभाको चुनाव तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।