काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो अभिभावकमाथि आक्रमण हुँदा र अस्पतालमा उपचार भइरहेका बेला पार्टी भित्र सुरु गरिएको बहस जायज नभएको बताएका छन्।
डा. महतले आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनपछि कांग्रेसमा भइरहेको नेतृत्व परिवर्तनको बहसलाई लक्षित गर्दै यस्तो बताएका हुन्।
कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन्।
‘अभिभावकमाथि सघातिक प्रहार हुँदा उपचार पनि पुरा हुन पर्खन पनि सक्दैनौ ? आकाश झरिहाल्छ ?’, महतले भने, ‘अवश्य पनि पार्टीका संरचनामा छलफल गर्छौ। घटनाको मूल्याङ्कन पनि गर्छौ र सुधार पनि गर्छौ।’
तर त्यसका लागि पर्खनुपर्ने महतको भनाइ छ। ‘त्यसका लागि पनि नपर्खने ? कार्यसम्पादन समितिबाट आधिकारिक निर्णय भएको छ त्यसभन्दा बाहिरबाट जुन छलफल थाल्नुभएको छ त्यसले पार्टीलाई राम्रो गर्दैन’, महतको चेतावनी छ।
उनले यस्तो बेला नेतृत्व हस्तान्तरणको बहसले देशलाई निरन्तर अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिलाई नै मद्दत पुग्ने दाबी समेत गरेका छन्।
महामन्त्रीद्वय थापा र शर्मासँगै केही नेताहरूले पार्टीको नेतृत्व बदलेर जेन-जी आन्दोलनको चाहनाअनुसार पार्टी पुनर्संरचना गरेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन्।
महतले अहिले कांग्रेस एक भएर अघि बढ्ने समय रहेको भन्दै विभाजनकारी प्रवृत्ति गलत भएको टिप्पणी गरे। ‘अहिले एक हुने बेला हो। एक भएर आफ्ना कमीकमजोरी हटाउँदै बलियो पार्टीका रूपमा अघि बढ्नुपर्छ। तर घाउ लागेको बेलामा घाउमा नुन छर्ने प्रवृत्ति गलत हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।