काठमाडौं– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकाङ्क्षा अनुसार दृढ सङ्कल्पका साथ काम गर्ने बताएकी छिन् ।
संविधान दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकाङ्क्षा अनुसार दृढ सङ्कल्पका साथ काम गर्ने बताइन् ।
उनले सरकारका काम कारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको उल्लेख गरिन् । यस्ता एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले आफू पदको लोभ लिएर प्रधानमन्त्री भएको नभई देश सङ्कटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा सङ्क्रमणको व्यवस्थापन गर्न नेतृत्व लिएको धारणा राखिन् ।
नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिने उनले दोहर्याइन् । कार्कीले कानुनी राज्य सुशासन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणामका कारण वर्तमान अवस्था आएको पनि बताइन् ।
उनले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माणका साथै व्यवसायीक प्रतिष्ठानमा भएको क्षतिबाट पनि माथि उठाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै यस काममा सहयोग गर्न आग्रह गरिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।