काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनदेखि लोकतन्त्रका लागि भएका सबै क्रान्ति र आन्दोलनको बलिदानीबाट प्राप्त उपलब्धि खेर जान नदिने बताएका छन् ।
संविधान दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देशमार्फत् उनले अहिले धूलो हेरेर निराश हुने छुट आफूहरूलाई नभउको भन्दै धूलो टक्टक्याएर निर्माणको इच्छाशक्ति देखाउनुपर्ने संकल्प गरे ।
दाहालले भने, ‘हामी यतिखेर ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा छौं । २३ गतेको नरसंहार र २४ गतेको विध्वंशले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ । यतिखेर धूलो हेरेर निराश हुने छुट हामीलाई छैन । धूलो टक्टक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ । अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आह्वान गर्दछु ।’
२३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सरकारसँग माग गरेका छन् । जेनजी आन्दोलनलाई समयमै विवेकपूर्व सम्बोधन गर्न नसक्दा मुलुक तरल अवस्थामा प्रवेश गरेको उनको बुझाइ छ ।
जेनजीले अहिले सारेको माग आफूहरूले १० वर्षअघि नै दर्ज गरेका फरक मतमा रहेको प्रचण्डको भनाइ छ ।
‘त्यतिखेर संविधानसभामा हाम्रो संख्या पुगेन। हामीले सम्झौता गर्नु पर्यो। तर, हामीले हाम्रा असहमतिहरूलाई लिखित फरक मतका रूपमा इतिहासको अदालतमा दर्ज गरेका थियौं । अहिले जेनजीले मागेका प्रत्यक्ष निर्वाचित कार्यकारी, हाम्रो त्यतिबेलैको सबभन्दा मुख्य फरक मत थियो । पैसाको खोलो बग्ने र भुइँमान्छेले चुनाव लड्ने कल्पनै गर्न नसक्ने अहिलेको निर्वाचन प्रणाली हामीले भत्काउन चाहेका थियौं । हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौं । पछिल्ला घटनाक्रम हेर्दा कता कता यस्तो लाग्छ, हाम्रा फरक मतहरू त्यतिबेलै स्वीकार गरिन्थ्यो र त्यसको सफल कार्यान्वयन हुन्थ्यो भने आज युवाहरूले विद्रोह गर्नुपर्ने र रगत बगाउनुपर्ने अवस्था सिर्जना नहुन पनि सक्थ्यो ।’
परम्परागत दलहरूले परिवर्तनको आवाज सुन्न ढिलो गर्दा जनयुद्धमा ठूलो क्षति भएकव र अहिले जेनजी विद्रोहमा पनि देशले ठूलो मूल्य चुकाउनु परेको उनको भनाइ थियो ।
‘प्रधानमन्त्रीका रूपमा वा प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा मैले कांग्रेस र एमालेको नेतृत्वलाई जनताको आवेग र आक्रोशसँग नखेल्न निरन्तर खबरदारी गरिरहेँ । दुई तिहाइको घमण्डबाट बाहिर निस्कन मैले सुझाव दिइरहेँ । प्रतिपक्षका रूपमा संसदमा हाम्रो जत्रो आकार थियो, त्योभन्दा धेरै नै ठूलो प्रतिरोध हामीले गर्यौं । राजनीतिक दलका रूपमा जेनजी आन्दोलनका मागमा पहिलो समर्थन पनि हामीले नै गर्यौं’, प्रचण्डले भनेका छन् ।
संसद विघटनको विधि र प्रक्रियामा असहमत हुँदाहुँदै पनि अन्तरिम सरकारको नेतृत्वको लागि राष्ट्रपतिसँग सहजीकरणमा आफू र माओवादी केन्द्रले के कस्तो भूमिका रह्यो, खेल्यो, त्यो सबैमा स्पष्ट भएको उनले दाबी गरेका छन् ।
प्रचण्डले जेनजी आन्दोलनको बलमा त्यही संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरूपमा जाने गरी तत्काल संविधान संशोधन सम्भव थियो भन्दै त्यसपछि संसद विघटनबारे सोच्न सकिन्थ्यो भनेका छन् ।
‘तर आज जेनजी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा मात्र सीमित भयो । शासकीय स्वरूप नै बदल्ने र इतिहास रच्ने मौका फेरि पनि चुक्यो’, दाहालले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।