काठमाडौं– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने भएका हुन् ।
तर उनलाई नियुक्त गर्नुअघि प्रतिनिधि सभा विघटन गरिनेछ । यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो ।
कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए ।
कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिएन । दुवै पक्ष आ–आफ्नो अडान यथावत् रहेका थिए । तर, अन्त्यमा संसद् विघटन गर्ने विषयमा सहमति जुटेको हो ।
यसअघि भदौ २३ र २३ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।