काठमाडौं –नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूको अनुहारमा दाग लागेको भएकाले अब जनतासँग माफी माग्नुपर्ने बताएका छन्।
एक भिडिओ सन्देश जारी गर्दै भदौ २३ गते कसैले नचाहेको अकल्पनीय घटना हुँदा आफूहरू सरकारमै भएकाले कांग्रेसले माफी माग्नुपर्ने बताए।
उनले भने, ‘तपाईँ र म सरकारमा थिएनौँ तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ। भदौ २४ गते भएको क्षतिको कसैले आँकलन गर्न सक्दैनन्।’
त्यस्तै थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताएका छन्।
मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले यसमा आत्मसमीक्षा गर्नुपर्ने उनले बताए। ‘नागरिकको विश्वास किन टुट्यो। यसको हामीले समीक्षा गर्नुपर्दछ। खासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो,’ थापाले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘उनीहरु किन हामीहरुसँग छैनन् ? यसको उत्तर खोज्ने मात्रै होइन, केही काम गर्ने पनि हो,’ गति र मति अनुसार पार्टी चल्न नसकेको बताए।
उनले भने, ‘अन्तरिम सरकार बनाउने कुरा छ। सम्भवतः आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला। आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति कांग्रेस तयार मात्र होइन यसका लागि वातावरण बनाइरहेको छ।’
तत्काल नयाँ सरकार बनेपछि भदौ २३ र २४ भएका अमानवीय र क्रूर घटना प्रत्येकको छानबिन र दोषीलाई कारबाही हुनुपर्ने कांग्रेसको माग रहने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।