काठमाडौं– सत्तारुढ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।
एमाले र कांग्रेस सरकार गठनका बेला भएको सात बुँदे सहमतिको औचित्य समाप्त भएको पनि थापा र शर्माको निष्कर्ष छ ।
थापा र शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरूलाई पनि राजीनामा गर्न सुझाएका छन् ।
'सरकार सहि ढंगले चलेन सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसद्मा र सार्वजनिक स्थलमा पटकपटक आग्रह गर्यौं । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली । अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पंक्तिमा असन्तुष्टि थप बढ्दै गयो । सामाजिक संजाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका जेनजी पुस्ता माथिको दमन निन्दनीय छ । तिनले कुनै कुर्सी मागेका थिएनन् । तर सरकारको अकर्मण्यताले होनहार युवाहरूले निर्मम मृत्यु वरण गर्नुपर्यो,' उनीहरूले भनेका छन्, '७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ । सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्युलाई भर्खरै आग्रह गरेका छौं । सभापतिज्युले अविलम्ब निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौं ।'
प्रधानमन्त्री ओलीले तत्काल पदत्याग गर्नुपर्ने उनीहरूको भनाइ छ । थापा र शर्माले जेनजी प्रदर्शनकारीलाई पनि संयमित हुन आग्रह गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।