काठमाडौं– सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारको विरोध र सुशासनका लागि भएको जेन–जी पुस्ताहरुको आन्दोलन नियन्त्रण बाहिर गएपछि एकैदिन १९ जनाले ज्यान गुमाएका छन् ।
एकैदिन यतिधेरैले रक्तपातपूर्ण जीवन गुमाउँदा पनि सरकारका प्रमुख भने नागरिकको मुख थुन्नमै अभ्यस्त देखिन्छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फकुवा गर्न सत्ता सहयात्रीहरुबाटै दबाब आए पनि प्रधानमन्त्री केपी शर्मा ओली तयार भएनन् ।
मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले मात्र नभइ, कांग्रेस सभापतिले त्यसअघि फोन गरेर फुकुवाको निर्णय गर्न सुझाव दिएका थिए ।
तर ओलीले भने आफू त्यसका लागि तयार नभएको जवाफ दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए ।
तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका थिए ।
यसबारे पौडेलले कांग्रेसको तर्फबाट जोडतोडका साथ जेनजीको आन्दोलन चर्किएको बेला सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई निरन्तरता दिन नहुने धारणा राखेका थिए ।
यस्तै गृहमन्त्री रमेश लेखकले भने आफ्नो पदबाट राजीनामा दिएका छन् । एकैदिन यतिधेरै जनधनको क्षति भएको र सुरक्षा व्यवस्था फेल हुनुमा कमजोरी भएको भन्दै नैतिकताका आधारमा लेखकले राजीनामा दिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।