काठमाडौं– सोमबार संघीय राजधानी काठमाडौंलगायत देशभर जेन–जी (Gen Z) पुस्ताले सुरु गरेको आन्दोलनलाई दमन गर्न सरकारले हत्याकाण्ड मच्चाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कडा आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दा पनि नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनुपर्ने धारणा राखेका छन् ।
आज, काठमाडौंको माइतीघर मण्डला, बानेश्वर र देशका अन्य प्रमुख शहरहरूमा जेन–जी पुस्ताले गरेको विरोध प्रदर्शनले ठूलो रूप लिएको छ ।
विशेषगरी, शिक्षा, स्वास्थ्य, रोजगारी र भ्रष्टाचारविरुद्धको यो आन्दोलनले युवाहरूलाई एकजुट बनाएको छ । प्रदर्शनकारीहरूले सरकारको कार्यशैलीको विरोध गर्दै विभिन्न नारा लगाएका थिए ।
यसै क्रममा, केही स्थानमा प्रदर्शन नियन्त्रण बाहिर गएको र प्रहरीसँग झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो । झडपका क्रममा अहिलेसम्म देशभरमा १९ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रहरीको गोली लागेर काठमाडौं उपत्यकामा १७ जना र इटहरीमा २ गरी १९ जना मारिएका हुन् ।
सरकारले आन्दोलनलाई शान्तिपूर्ण रूपमा समाधान गर्नुको साटो बल प्रयोग गरेको भन्दै विभिन्न राजनीतिक दल र नागरिक समाजले आलोचना गरेका छन्।
आन्दोलनमा भएको दमनलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा लेख्दै सरकारको चर्को आलोचना गरेका छन् । उनले भनेका छन्, "यो राजीनामा माग्ने समय होइन । नरसंहार गरेर हत्याकाण्ड चलाएको मुद्दामा हत्कडी हालेर पक्राउ गर्दै जेल चलान गर्ने हो ।"
शाहीले आइतबार नै जेन–जीको आन्दोलनलाई समर्थन जनाएका थिए । आज भएको घटनाका विषयमा सरकारले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग चौतर्फी रूपमा उठेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।