काठमाडौँ– शुक्रबार संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने भएको छ।
सोमबार बिहान ११ बजे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाको शपथ ग्रहण कार्यक्रम हुने सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।
सङ्घीय संसद्का दुवै सदनका सदस्यको प्रतिनिधित्व रहने समितिका सभापति खतिवडालाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा सभामुख घिमिरेले शपथ दिलाउने छन्।
यसअघि राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्नकालागि ईश्वरीदेवी न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएका थिइन्।
त्यस्तै यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रहेका खतिवडा सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रकरणको छानबिन गर्न बनेको संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राजीनामा दिएका थिए।
त्यसपछि खतिवडालाई उनको पार्टी नेपाली कांग्रेसले त्यहाँबाट सरुवा गरेर संसदीय समिति ल्याइ सभापति बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।