काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना नराखेकै राम्रो हुने बताएका छन् ।
विधान अधिवेशनमा राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारीबारे यस्तो बताएका हुन् ।
‘कमरेड विद्या भण्डारीको सन्दर्भमा पार्टीमा दुई मत छैन । राष्ट्रपति बनायौँ । दोस्रो पटक पनि हुनुभयो’, ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अत्यन्तै जिम्मेवारीका साथ कार्यकाल पूरा गर्नुभयो । पहिलो महिला राष्ट्रपति, संविधान जारी भएपछिको राष्ट्रपति हो ।’
अध्यक्ष ओलीले भण्डारीलाई सही ढङ्गले मध्यस्थता गर्न सक्ने सामर्थ्य भएको पूर्व राष्ट्रपतिको संज्ञा समेत दिए ।
‘तर, सक्रिय राजनीतिमा आउने चाहना राख्नु हुन्थ्यो । आएपछि पनि अध्यक्ष बन्न आउन खोज्नुभएको छ । यो अहिले सम्भव छैन’, ओलीले भने, ‘अध्यक्षविरुद्ध आलोचना, गलत मनसाय भएका साथीभाइको सहयोग खोज्न थाल्नुभयो । यो सह्य थिएन, भएन ।’
ओलीले भण्डारीले सदस्यता परित्याग गरेको भन्दै त्यो अवस्थामा पुन सदस्यताका लागि पुन प्रक्रियामा जानुपर्ने बताए । उनले भने, ‘यससम्बन्धी थप केही भए केन्द्रीय कमिटीको बैठकले टुङ्गो लगाउने छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।