ललितपुर– नेकपा एमालेकाे विधान महाधिवेशन हलमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्न नदिएका फरक मत समूहगत छलफलमा समेटिने भएकाे छ।
बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि स्थायी कमिटी सदस्य कर्ण थापाकाे फरक मत मूहगत छलफलमा मात्र राख्न ओलीले आग्रह गरेका हुन्।
बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य थापाले आफ्नाे फरक प्रस्ताव राख्न खाेजेका थिए। तर अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न भन्दै राेकेका थिए।
ओलीले हलमा अन्य प्रतिनिधले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गरे। ओलीकै सहमति लिएर नेता थापाले आफ्ना मतहरू पर्चामार्फत् शुक्रबार हलमा वितरण गरेका थिए।
शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तवेज प्रस्तुत गरेका थिए।
दोस्रो दिन आज केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए।
ती सबै प्रतिवेदनमा छलफल गर्नका लागि गठित दश समूहले आज दिनभर छलफल गर्नेछन्। समूहको टोली नेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ। महाधिवेशन आइतबार सम्पन्न हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।